काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदन संयुक्त इजलासमा तोकिएको छ।लामिछानेको रिटको पेसी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको हो ।
लामिछानेको उक्त रिट निवेदन पटक पटक हेर्न नमिल्नेमा परेर स्थगित हुँदै आएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । उनले रिटमा रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गरेकी छिन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।