दाङ । जनमत पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ताले आज राजीनामा दिएकी सांसद गीता गुरूङ बेपत्ता भएको बताएका छन् ।
समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा सभामुखसमक्ष राजीनामा दिएकी छन् । राजीनामा दिएर सांसद गुरूङ मोबाइल अफ गरेर बसेकी छन् ।
दलका नेता चन्द्रकेशले गुरुङ २ महिनादेखि बेपत्ता भएको प्रतिक्रिया बताए । ´उहाँ प्रदेशसभा बैठकमा पनि खासै उपस्थित हुनुहुन्न । दुई महिनादेखि बेपत्ता हुनुहुन्छ । हाम्रो सम्पर्कमा हुनुहुन्न`, उनले भने । ‘सांसद त बनाइयो, तर उहाँले जिम्मेवारी पूरा गर्नसक्नु भएन । उहाँलाई सांसद बनाएर गल्ती गरियो`, गुप्ताले थपे ।
गुरूङ पार्टीको सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको भन्दै उनले राजीनामा आए स्वीकृत गर्ने बताए । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले राजीनामा कार्यालय आइनसकेको र आफूले मिडियाबाट सुनेको बताएका छन् ।