काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताएकी छन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने आग्रह गरिन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डंगाेलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताइन्।सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताइन्। नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको दाबी गरिन्। युवाले सही र गलत छुट्याउनु पर्ने उनको भनाइ छ। युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताइन्।
‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’ नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएको बताइन्।