काठमाडौँ । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गर्नु भएको छ । यती समूहका अध्यक्षसमेत रहनु भएका शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको समूका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।
ल्हाक्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल हुनु भएको थिएन । उहाँ क्याम्प २ बाटै फर्किनु भएको थियो । पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाउनु भएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । आरोहण गरी फर्कने क्रममा उहाँको बाटैमा निधन भएको थियो ।
यसैबीच बुधबार नै कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औं पटक सगरमाथाको चुचुरो पुग्नु भएको छ । उहाँ विश्वमै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने आरोही समेत हुनुहुन्छ ।

