काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गर्नु भएको छ । उहाँले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको बताउनु भयो ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद देउवाले आफ्नो नाममा बनाइएको अडियो टेपको वास्तविकता ६ दिनसम्म पत्ता लगाउन नसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराउनु भयो । ‘आज म उपस्थित भएको सबैले देख्नुभएको होला । फिजिकल फर्ममै छु । यहाँबाट के भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा रहेछ । यो देख्दा के लाग्यो भने फेक मिडियामा सरकारको सुपरभिजन हुनुपर्यो,’ आरजुले भन्नु भयो ।
सामाजिक सञ्जालहरूमा आर्जु फरार भन्ने खालका सन्देश आएपछि उहाँले आफू संसदमा सशरीर उपस्थित भएको बताउनु भएको छ । शरणार्थी प्रकरणको भनिएको अडियोमा अरूको पनि सार्वजनिक भएकोमा आफ्नो मात्र नाम उच्चारण गरिएको भन्दै उहाँले आक्रोश पोख्नु भयो ।
‘६ दिन अगाडि मेरो नाम भनेर ल्याइएको शरणार्थीको फेक अडियो फरेन्सिक जाँचका लागि लागि सीआईबी र साइबर क्राइम सेल (साइबर ब्यूरो)मा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । साथीहरूले विश्वास गर्नुहुन्न होला सत्तापक्षको ठूलो नेताको श्रीमती भनेर (दर्ता गर्न मानिएको थिएन) । तीन घण्टा लाग्यो दर्ता गराउन । किन अलमल थियो ? ६ दिनसम्म फेक हो कि होइन किन बताउन सकेको छैन ? म त आतुर छु,’ उहाँले भन्नु भयो, ‘फेक अडियो टेपको सत्यतथ्य छिट्टै आओस् । फेक अडियो अरूको पनि बनेको छ, तर नाम मेरो मात्र उच्चारण हुन्छ । साँच्चै भन्ने हो भने यो चरित्र हत्या मात्र होइन चरित्रमाथि बलात्कार हो ।’