जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने व्यवस्था मिलाएको छ।
यातायात व्यवस्था कार्यालयबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै चालक अनुमतिपत्र वितरण गर्न लागिएको हो।
गाउँपालिका अध्यक्ष जयकुमार यादवले पहिलो चरणमा ८४ जनाको चालक अनुमतिपत्र वितरण गर्न लागिएको जानकारी दिएका छन्। उनले चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफ्नो अनुमतिपत्र लिन गाउँपालिकामा उपस्थित हुन आग्रहसमेत गरेका छन्।
अध्यक्ष यादवका अनुसार स्थानीय नागरिकलाई सामान्य सरकारी सेवा लिन पनि टाढा पुग्नुपर्ने बाध्यता हटाउँदै सेवा प्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
पालिकाबाटै चालक अनुमतिपत्र प्राप्त गर्न सकिने भएपछि स्थानीय सेवाग्राहीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ। यसबाट विशेषगरी यातायात कार्यालयसम्म पुग्न असहज हुने ग्रामीण क्षेत्रका नागरिकलाई राहत पुग्ने विश्वास गरिएको छ।






