१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आरोप लाग्दैमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका छन्। निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिका संयोजकसमेत रहेका झाले अध्ययन र अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्नुपर्ने बताएका हुन्।
बिहीबार उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसमितिले पोसाक खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझाव र सिफारिससहित प्रतिवेदन तयार गर्ने स्पष्ट पारे। उनका अनुसार कसैलाई दोषी ठहर गर्ने वा कारबाहीको निर्णय गर्ने अधिकार पूर्ण समितिलाई हुनेछ।
झाले अध्ययनअघि नै कसैलाई भ्रष्टाचार गरेको आरोपमा दोषी घोषणा गर्नु पूर्वाग्रही सोच हुने बताए। उपसमिति अहिले नै कुनै निष्कर्षमा नपुगी प्रमाण र तथ्यका आधारमा अध्ययन गर्न चाहेको उनको भनाइ छ।
उपसमितिले कात्तिकभर आन्तरिक अध्ययन गर्नेछ भने मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्ष, विज्ञ तथा जिम्मेवार अधिकारीसँग बयान, अन्तर्वार्ता र छलफल गर्नेछ। मंसिर २० गतेसम्म कार्यावधि रहेको उपसमितिले अन्तिम पाँच दिन प्रतिवेदन लेखनमा खर्च गर्नेछ।
निर्वाचन प्रहरीको पोसाक खरिदमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भ्रष्टाचार गरेको आरोपसहित उजुरी परेपछि सार्वजनिक लेखा समितिले झाको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिको दोस्रो बैठकले आवश्यक कार्यादेशसमेत स्वीकृत गरेको छ।
मनिष झाको स्पष्टोक्ति– प्रमाणबिना कसैलाई दोषी मान्दैनौँ
मनिष झाको स्पष्टोक्ति– प्रमाणबिना कसैलाई दोषी मान्दैनौँ
तपाईको प्रतिक्रिया



