काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेटको रोमाञ्चसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले चाँदीको बलसमेत पाउने भएका छन् । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगितालाई थप आकर्षक बनाउन ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको हो ।
आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्नेलाई उक्त पुरस्कार प्रदान गरिनेछ ।
यस पुरस्कारको विशेष पक्ष भनेको एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले चाँदीको बल पाउनेछन् । यसले खेलाडीलाई व्यक्तिगत प्रदर्शनमा समेत उत्कृष्टता हासिल गर्न थप प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कारको सुरुवात भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।
खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास गर्ने एक्स्ट्रिमको यो पहलले एनपीएलको आकर्षण बढाउने विश्वास गरिएको छ । साथै, नेपाली क्रिकेटप्रति समर्थकको बढ्दो चासो र उत्साहलाई थप ऊर्जा दिने अपेक्षा पनि गरिएको छ ।
अब एनपीएलमा टोलीलाई जित दिलाउने लक्ष्यसँगै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेर चाँदीको बल जित्ने अवसरसमेत खेलाडीका लागि थप आकर्षण बन्ने भएको छ ।



