२१ असोज, काठमाडौं । फ्रान्समा थप स्रोतसाधनको माग गर्दै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किँदै जाँदा सयौं उच्च माध्यमिक विद्यालय प्रभावित भएका छन्।
प्रदर्शनका क्रममा केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन्। प्रदर्शनका क्रममा कर्मचारी, विद्यार्थी र प्रहरीसमेत घाइते भएका छन्। प्रहरीको दंगा नियन्त्रणमा प्रयोग हुने हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएको भन्दै सरकारको आलोचना बढेको छ। घटनाक्रमले राष्ट्रपति इम्यानुएल म्याक्रोन नेतृत्वको सरकारमाथि दबाब बढेको बताइएको छ।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार आन्दोलनका क्रममा प्रहरीले हालसम्म ६ हजार १०० भन्दा बढीलाई पक्राउ गरेको छ। त्यस्तै, ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन्। गृहमन्त्री नुनेजले प्रहरीले अधिकांश घटनामा परिस्थितिअनुसार उचित प्रतिक्रिया दिएको दाबी गरेका छन्। उनको यस्तो अभिव्यक्तिपछि प्रदर्शनकारी तथा आलोचकहरूको आक्रोश थप बढेको बताइएको छ।
स्रोतसाधनको मागबाट सुरु भएको आन्दोलन
फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व’ भए पनि विपन्न विद्यालयका विद्यार्थीले पर्याप्त स्रोत र अवसर नपाएको भन्दै आन्दोलन सुरु गरेका हुन्।
विद्यार्थीहरूले कक्षाकोठामा डेस्क–बेन्च र कुर्सीजस्ता आधारभूत सामग्रीको अभाव, वातानुकूलनको व्यवस्था नहुँदा गर्मीमा कक्षाकोठा अत्यधिक तात्ने समस्या तथा कर्मचारी अभावलगायतका विषय सम्बोधन गर्न माग गरेका छन्।
यी मागसहित सेप्टेम्बरको मध्यतिर पेरिस क्षेत्रबाट सुरु भएको प्रदर्शन क्रमशः फ्रान्सका अन्य सहर तथा नगरमा समेत फैलिएको छ।
उच्च माध्यमिक विद्यालयका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मजदुर युनियनहरूले समेत र्याली निकालेका छन्। मंगलबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘तपाईं भन्नुहुन्छ, युवाहरू नै भविष्य हुन्, त्यसैले उनीहरूको कुरा सुन्नुहोस्’ भन्ने सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
आन्दोलन विस्तार हुँदै गएपछि विद्यार्थीका माग सम्बोधन गर्ने विषयसँगै प्रहरीको प्रदर्शन नियन्त्रण गर्ने शैलीलाई लिएर पनि फ्रान्समा बहस चर्किएको छ।
विद्यार्थी आन्दोलनले ततायो फ्रान्स, सरकार संकटमा
विद्यार्थी आन्दोलनले ततायो फ्रान्स, सरकार संकटमा
तपाईको प्रतिक्रिया



