१० असोज, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ ।
वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुईवटा किराना पसल, एउटा गोठ र १० वटा पानीघट्ट बगाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन ।
राति साढे ८ बजेतिर भारी वर्षापछि आएको बाढीले स्थानीय उज्वन खड्काको घर बगाएको हो । बाढीको जोखिम बढेपछि खड्काको परिवार घर छाडेर सुरक्षित स्थानमा गएकाले मानवीय क्षति हुनबाट जोगिएको हो ।
बाढीले घर बगाउँदा घरमा रहेको करिब एक तोला सुनका गरगहना, १० हजार रुपैयाँ नगद, भाँडाकुँडा, अन्नपातलगायतका सामानसमेत बगाएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार एउटा भैंसी र १० वटा भेंडाबाख्रा पनि बाढीमा परेका छन् ।
त्यस्तै, बाढीले स्थानीय खड्कबहादुर खड्का र बमबहादुर विकका किराना पसल तथा गंगाराम खड्काको गोठ बगाएको छ । गोठमा रहेका तीनवटा भैंसी र पञ्चराम डाँगीका दुईवटा गोरुसमेत बाढीले बगाएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले रातिको भारी वर्षापछि ठाडोखोलामा आएको बाढीले क्षति पुर्याएको जानकारी प्राप्त भएको बताए ।
घटनास्थल टाढा रहेकाले क्षतिको यकिन विवरण संकलन गर्न बिहानै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको उनले जानकारी दिए । प्रहरी टोलीको स्थलगत निरीक्षणपछि क्षतिको थप विवरण आउने प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा बाढीको ताण्डव, घर–गोठसहित पानीघट्ट बगायो
रुकुम पश्चिममा बाढीको ताण्डव, घर–गोठसहित पानीघट्ट बगायो
तपाईको प्रतिक्रिया



