काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावपछि इरानमाथि पुनः आक्रमण हुन सक्ने चेतावनी दिएपछि अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।
अमेरिकाले करिब ९ हजार सैनिकसहित युद्धपोत यूएसएस थियोडोर रुजवेल्टलाई पश्चिम एसिया पठाउने तयारी गरेको छ । यसअघि नै यूएसएस जर्ज डब्लु बुस र यूएसएस जर्ज वासिङ्टन यस क्षेत्रमा तैनाथ छन् । रुजवेल्टको तैनाथीपछि अक्टोबरको अन्त्यसम्म पश्चिम एसियामा तीनवटा अमेरिकी एयरक्राफ्ट क्यारियर हुनेछन् ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको आदेश दिए अमेरिकी सेना त्यसका लागि तयार रहेको बताएका छन् ।
यसैबीच ट्रम्पले इरानले अघि सारेको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् । इरानले होर्मुज जलडमरु खुला गर्ने तथा आफ्नो परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्ने प्रस्ताव अघिसारेको थियो ।
इरानका विदेशमन्त्री अब्बास अरागचीले भने सम्झौताको बदलामा विदेशमा रोक्का रहेका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने र तेल बिक्री गर्न पाउनुपर्ने माग गरेका छन् ।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसपछि इरानले इजरायलसहित खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी जवाफी आक्रमण गरेको थियो ।
अमेरिकाले इरानको आणविक क्षमतालाई कमजोर पार्नु आफ्नो सैन्य कारबाहीको प्रमुख उद्देश्य रहेको बताउँदै आएको छ भने इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।
ट्रम्पको चेतावनी : मध्यावधि चुनावपछि इरानमाथि फेरि आक्रमण हुन सक्छ
ट्रम्पको चेतावनी : मध्यावधि चुनावपछि इरानमाथि फेरि आक्रमण हुन सक्छ
तपाईको प्रतिक्रिया



