काठमाडौं । विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा एक व्यक्ति घाइते भएका छन् भने पक्राउ परेका अर्का व्यक्तिको हिरासतमै मृत्यु भएको छ।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिएको थियो। राति करिब साढे ११ बजे गस्तीमा रहेको प्रहरी टोली पुगेपछि समूहका सदस्यहरू भाग्न थालेका थिए।
प्रहरीले घटनास्थलबाट आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला मंगलबार बिहान हिरासतमै अचेत अवस्थामा भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरी पुगेपछि भएको भागाभागका क्रममा कोइराला घाइते भएका थिए। पक्राउपछि गरिएको स्वास्थ्य परीक्षणमा भने उनको अवस्था सामान्य देखिएको थियो।
मंगलबार बिहान करिब साढे ७ बजे कोइराला अचानक अचेत भएपछि सँगै रहेका व्यक्तिहरूले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले तत्काल उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएकोमा मंगलबार बिहान करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार कोइरालाको यसअघि टाउकाको शल्यक्रिया भएको थियो। यद्यपि उनको मृत्युको कारण भने खुलिसकेको छैन।
यस्तै, भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलामाथिबाट हामफालेका थिए। उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। मुखिया एम्बुलेन्स चालक हुन्।
प्रहरीले घटनास्थलबाट तास खेलिरहेको समूहको साथमा रहेको ४८ हजार ३ सय ९५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
विराटनगरमा तास खेलिरहेको ठाउँमा प्रहरी पुग्दा भागाभाग, हिरासतमा एकजनाको मृत्यु
विराटनगरमा तास खेलिरहेको ठाउँमा प्रहरी पुग्दा भागाभाग, हिरासतमा एकजनाको मृत्यु
तपाईको प्रतिक्रिया



