‘सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्रै देश बन्दैन, माटो र बेल्चा छुनुपर्छ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणमा जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा हुने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रम संस्कृतिलाई प्राथमिकता दिनुपर्ने बताइन्।
बाढी प्रभावित क्षेत्रमा आफ्नो दलसम्बद्ध युवा संगठनका सदस्यहरू सुरुदेखि नै उद्धार तथा राहत वितरणमा सक्रिय रहेको उनले जानकारी दिइन्। उद्धारका क्रममा युवाहरूले फेला पारेको सुनसहितका धनमाल सम्बन्धित पीडितलाई बुझाएर इमानदारीको उदाहरण प्रस्तुत गरेको पनि उनले बताइन्।
‘माटो र बेल्चा नछोई देशको विकास सम्भव हुँदैन, सामाजिक सञ्जालमा पोस्ट गर्दैमा मात्रै देश बन्दैन,’ सांसद बुढामगरले भनिन्।
उनले देश निर्माणका लागि राज्यको संयन्त्र मात्रै पर्याप्त नहुने भन्दै जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। विगतमा ‘सहिद मार्ग’ निर्माणका क्रममा जनताले आफ्नै श्रमबाट काम गरेको स्मरण गर्दै उनले त्यही श्रम संस्कृतिलाई पुनः जागृत गर्नुपर्नेमा जोड दिइन्।
हालको सरकार युवा शक्तिको बलमा बनेको उल्लेख गर्दै बुढामगरले सोही शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्ने बताइन्। विपद्को समयमा राहतको पर्खाइमा मात्र नबसी सामूहिक जनश्रमदानमार्फत भत्किएका संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने उनको भनाइ थियो।
– ‘सामाजिक सञ्जालको पोस्टले मात्रै देश बन्दैन’
– ‘सामाजिक सञ्जालको पोस्टले मात्रै देश बन्दैन’
तपाईको प्रतिक्रिया



