६ असोज । धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–९, मुलघाटमा चेकजाँचका क्रममा प्रहरीले विद्युतीय गाडीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडी चेकजाँच गर्दा सिटमुनि राखिएको कपडाको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, क्याप्सुल र ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद खैरो पदार्थको तौल प्लास्टिकबाहेक १ ग्राम २३० मिलिग्राम रहेको छ । पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका–६ का २४ वर्षीय प्रविन राई रहेका छन् ।
यस्तै, शहीदभूमि गाउँपालिका–७, चाम्चाबाट प्रहरीले लागुऔषधसहित २१ वर्षीय प्रगत राईलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको टोलीले उनको घरकोठाबाट ट्रामोल–५० का २९ पत्ता (२९० क्याप्सुल) र स्पास्पेन प्रोका २९ पत्ता (२९० ट्याब्लेट) बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
लागुऔषधसहित धनकुटाबाट ३ जना पक्राउ
लागुऔषधसहित धनकुटाबाट ३ जना पक्राउ
तपाईको प्रतिक्रिया



