काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अस्पतालको आईसीयूभित्रै अन्तर्वार्ता लिइएको विषयले प्रवेश पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले आकस्मिक समयमा बोल्दै उपचारका लागि अत्यन्त संवेदनशील मानिने आईसीयूभित्र अन्तर्वार्ता लिने वा लिन अनुमति दिने अभ्यासप्रति गम्भीर प्रश्न उठाएकी हुन्।
उनले आईसीयूलाई गम्भीर अवस्थामा रहेका बिरामीको उपचार गरिने विशेष कक्षका रूपमा व्याख्या गर्दै त्यहाँ बिरामीको स्वास्थ्य सुरक्षा, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताइन्।
‘उपचारका लागि अस्पताल पुगेका बिरामीमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा त्यसका लागि अनुमति दिनु कति नैतिक अभ्यास हो?’ भन्दै सांसद बाँस्कोटाले प्रश्न गरिन्। उनका अनुसार बिरामीको संवेदनशील अवस्थालाई ख्याल नगरी गरिने यस्ता गतिविधिले अस्पतालको उपचार वातावरण र बिरामीको अधिकारमाथि समेत प्रश्न उठाउन सक्छ।
उनले मानिसको जीवनभन्दा ठूलो कुनै पनि कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुन नसक्ने स्पष्ट पारिन्। सामाजिक सञ्जालको भ्युज, टीआरपी वा चर्चाका लागि बिरामीको संवेदनशीलतालाई प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिइन्।
मानवीय जीवनलाई टीआरपी वा भ्युजको मूल्यमा तौल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै बाँस्कोटाले अस्पतालभित्र बिरामीको अधिकार र मर्यादा सुनिश्चित हुने गरी स्पष्ट कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको बताइन्।
उनले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अस्पतालमा उपचाररत बिरामीलाई अनावश्यक हैरानी वा असहजता नहुने वातावरण बनाउन माग गरिन्। मेडिकल नेग्लिजेन्ससँग सम्बन्धित बहुआयामिक विषयलाई समेटेर छिट्टै ‘मेडिकल नेग्लिजेन्स ऐन’ ल्याउनुपर्ने उनको भनाइ थियो।
विशेषगरी आईसीयूजस्तो संवेदनशील क्षेत्रमा सञ्चारमाध्यम, अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिले पालना गर्नुपर्ने स्पष्ट प्रोटोकल र मापदण्ड बनाउनुपर्नेमा सांसद बाँस्कोटाले जोड दिइन्। बिरामीको उपचार, गोपनीयता र सुरक्षालाई कुनै पनि प्रकारको प्रचार वा सामग्री निर्माणभन्दा माथि राख्ने व्यवस्था कानुनमै सुनिश्चित गर्नुपर्ने उनको माग छ।


