काठमाडौं । भोटेकोसी बाढी प्रभावित रसुवाका चार गाउँपालिकामा हैजा फैलन सक्ने आशंकामा खोप अभियान सुरु गरिएको छ । रसुवाका आमाछोदिङ्मो गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा हैजाविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
विपद्पश्चात् फैलन सक्ने सरुवा रोगजन्य महामारीको प्रकोप आउन नदिन वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा खोप अभियान चलाइएको छ । भदौ २५ गतेदेखि खोप अभियान थालिएको हो ।
गोसाइँकुण्ड गाउँपालिकामा मात्र भदौ २८ गतेसम्म ७१९ महिला र ६५५ पुरुष गरी एक हजार ३१७ जनाले खोप लिइसकेका छन् । एक वर्षभन्दा माथिका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई हैजाविरुद्धको खोप लगाइएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले जानकारी दिए ।
“पूर्वसावधानी अपनाउन हैजासहित खोप अभियान सुरु भएको छ,” उनले बाह्रखरीसित भने, “भदौ २५ बाट सुरु भएको अभियान जारी छ ।
बाढी प्रभावित क्षेत्रमा दादुरा–रुबेलाविरुद्धको र टीडी खोप पनि दिइएको छ । ६ महिनादेखि १५ वर्ष उमेर समूहका सबैले दादुराविरुद्धको खोप लिएका छन् ।
रसुवाका अरू गाउँपालिकामा पनि खोप अभियान जारी छ ।


