काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा हराइरहेका तथा सम्पर्कविहीनमध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० को तथ्यांकअनुसार अझै पनि ११ वटा जलविद्युत् आयोजनाबाट ८९४ जना सम्पर्कविहीन छन् ।
सबैभन्दा ठूलो संख्या रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन छन् । २१६ मेगावाटको निर्माणाधीन आयोजनामा ५७३ जना अझै हराइरहेका छन् । सोमबार तीन जनाको उद्धार भए पनि अरू ठूलो संख्या सम्पर्कमा आउन सकेको छैन ।
आयोजनामा हराइरहेकामध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने कामदार रहेको उल्लेख छ । उनीहरू बाढी आएको समयमा सुरुङभित्र काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्न बाँकी थिए भन्ने यकिन हुन सकेको छैन । बाढी आएको दिन आयोजनामा करिब १ हजार ४०० जनाले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।


