काठमाडौँ । नेपालसँगको सीमावर्ती क्षेत्रमा गत साता आएको विनाशकारी बाढीबारे अनलाइनमा गलत सूचना फैलाएको आरोपमा चीनमा कम्तीमा १२ जनामाथि कारबाही गरिएको छ।
चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार विपद्का विषयमा ‘जनतालाई भ्रमित पार्ने उद्देश्यले झूटा सूचना सिर्जना तथा प्रसार’ गरेको आरोपमा १० जनालाई प्रशासनिक कारबाही गरिएको हो।
अधिकारीहरूले ती व्यक्तिहरूले सामाजिक सञ्जालमा फैलाएको भनिएको गलत सूचनाका उदाहरणसमेत सार्वजनिक गरेका छन्।
तीमध्ये अधिकांश तिब्बतको जिरोङ बन्दरगाहमा बाढीबाट मृत्यु भएका र बेपत्ता भएकाहरूको आधिकारिक संख्यालाई लिएर गरिएको अनुमान र दाबी थिए।
एउटा पोस्टमा आधिकारिक रूपमा सार्वजनिक गरिएको भन्दा निकै ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको दाबी गरिएको थियो।
आइतबार सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार चिनियाँ अधिकारीहरूले बाढी तथा पहिरोमा हालसम्म १६ जनाको मृत्यु भएको र ५४६ जना बेपत्ता रहेको बताएका छन्।


