काठमाडौं । मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन् । मंगलबार सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका लालबहादुर राईलाई सुरक्षाकर्मीले समयमै उद्धार गरेका हुन् ।
प्रहरीका अनुसार राईले सोमबार ठगीसम्बन्धी मुद्दामा फैसला आफ्नो विपक्षमा आएपछि आफूलाई सर्वोच्च अदालतले ‘हराएको’ भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि उनले एउटा नोटसमेत लेखेर मंगलबार सर्वोच्च अदालतको भवनको पाँचौँ तल्लामा पुगेका थिए ।
राईले भवनबाट हामफाल्ने प्रयास गर्न खोजेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर सकुशल उद्धार गरेका थिए । उद्धारपछि उनलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ ।
घटनापछि सर्वोच्च अदालत परिसरमा केही समय सुरक्षाकर्मीको सक्रियता बढाइएको थियो । राईको अवस्थाबारे आवश्यक सोधपुछ तथा थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


