काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । आन्तरिक तयारीलगायतका कारण भ्रमण सेप्टेम्बरको दोस्रो साताका लागि सारिएको स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन् । यसअघि लामिछाने मानसरोवर जाने वा नजानेबारे निश्चित थिएन ।
चीन भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतको दाबी छ ।
यसअघि दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर फर्किएका लामिछानेले चीनमा पनि उच्चस्तरीय भेटघाटको वातावरण बनाउन प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भारतपछि चीन भ्रमणलाई समेत राजनीतिक र कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । लामिछानेको चीन भ्रमणका क्रममा हुने राजनीतिक भेटवार्ता र मानसरोवर यात्रालाई विशेष चासोका साथ हेरिएको छ ।


