काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले मंगलबार बिहानै वैदेशिक रोजगार विभागमा छड्के अनुगमन गरेका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवामा देखिएका समस्या, श्रमिकका गुनासा र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन मन्त्री विभाग पुगेका हुन्।
मन्त्री यादवले पदभार सम्हालेयता श्रमिकका समस्या समाधान, म्यानपावर कम्पनीको लापरबाही नियन्त्रण र ठगीमा संलग्नमाथि कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै आएका छन्। तर, विभागमा सेवा लिन पुगेका पीडितहरूले भने अझै पनि आधारभूत सुविधाको अभाव र झन्झटपूर्ण प्रक्रियाका कारण सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
पीडितहरूका अनुसार वैदेशिक रोजगारीमा ठगिएपछि उजुरी दिन विभाग पुग्दा अत्यन्त साँघुरो गल्लीमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था छ। करिब एक हात जति मात्र चौडाइ भएको उक्त गल्लीमा पर्याप्त हावा आउने व्यवस्था समेत नभएको उनीहरूको भनाइ छ। यस्तै असहज वातावरणमा पीडितहरूले आफ्नो गुनासो दर्ता गर्न बाध्य हुनु परेको उनीहरूको गुनासो छ।


उजुरी समयमै सुनुवाइ नहुने, केही घटनामा सम्बन्धित पक्षसँग मिलेमतो गरी मुद्दा सामसुम पार्ने प्रयास हुने गरेको आरोप पनि सेवाग्राहीहरूले लगाएका छन्। पटक–पटक मन्त्री र उच्च अधिकारीले अनुगमन गरे पनि विभागको सेवा प्रणाली र भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार हुन नसकेको उनीहरूको भनाइ छ।

सेवाग्राहीहरूले उजुरी दर्तादेखि सुनुवाइसम्मको प्रक्रिया सहज, पारदर्शी र पीडितमैत्री बनाउन तथा विभागको साँघुरो गल्ली र सेवा प्रवाहको अव्यवस्था तत्काल सुधार गर्न सरकारसँग माग गरेका छन्। मन्त्री यादवको पछिल्लो अनुगमनपछि विभागमा वर्षौंदेखि देखिएका यी समस्या समाधान हुने अपेक्षा गरिएको छ।


