काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहका शीर्ष नेताहरू आज आन्तरिक छलफलमा जुट्दै छन्। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक अवस्था, महाधिवेशनको कार्यतालिका तथा आगामी रणनीतिबारे साझा धारणा बनाउन शीर्ष तहको बैठक बोलाइएको हो।
नेता मीन विश्वकर्माका अनुसार बैठक दिउँसो २ बजे काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा नियमित महाधिवेशन पक्षधर नेताहरूबीच पछिल्ला घटनाक्रमको समीक्षा गर्दै भावी रणनीति तय गर्ने तयारी गरिएको छ।
असार २२ गतेदेखि लगातार बसेको नियमित महाधिवेशन पक्षधरको बैठकमा सहभागी अधिकांश नेता तथा कार्यकर्ताले शीर्ष नेतृत्वले अब स्पष्ट निर्णय लिनुपर्ने दबाब दिएका थिए। लामो समयदेखि छलफल भइरहे पनि ठोस निष्कर्ष ननिस्किएको भन्दै उनीहरूले शीर्ष नेताहरूले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न शीर्ष नेतृत्वले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्ने, आवश्यक परे वैकल्पिक बाटोसमेत अवलम्बन गर्न हिच्किचाउन नहुने सुझाव दिएका थिए।
यही सुझावका आधारमा शीर्ष नेताहरूबीच आज छुट्टै छलफल हुन लागेको हो। छलफलमा नियमित महाधिवेशनको एजेन्डा, संगठनात्मक गतिविधि, पार्टीभित्रको आन्तरिक एकता तथा आगामी रणनीतिलगायत विषयमा विस्तृत समीक्षा हुने बताइएको छ।
नियमित महाधिवेशन पक्षधर समूहले शीर्ष तहको छलफलपछि साझा निष्कर्षसहित अगाडि बढ्ने तयारी गरेको जनाएको छ।
कांग्रेसभित्र इतरपक्ष सक्रिय, शीर्ष नेता छलफलमा जुट्दै
कांग्रेसभित्र इतरपक्ष सक्रिय, शीर्ष नेता छलफलमा जुट्दै
तपाईको प्रतिक्रिया


