ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधार र सुशासनको अभियानलाई निरन्तरता दिन सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन्। साथै, सरकारका कमजोरीमा भने कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै आवश्यक खबरदारी गर्ने स्पष्ट पारेका छन्।
आइतबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै थापाले राजनीतिक स्थिरता कायम राख्दै सरकारले जनताबाट प्राप्त पाँच वर्षको जनादेशअनुसार प्रभावकारी ढङ्गले काम गर्न पाउनुपर्ने धारणा व्यक्त गरे।
उनले प्रधानमन्त्रीको प्रमुख दायित्व सिंहदरबारबाट शासकीय सुधार, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको उल्लेख गर्दै त्यस अभियानलाई निरन्तरता दिन कांग्रेस सकारात्मक रहेको बताए।
सरकारका केही कार्यशैलीप्रति पार्टीको असहमति रहेको स्वीकार गर्दै थापाले सकारात्मक काममा साथ र कमजोरीमा प्रश्न उठाउने नीति नै कांग्रेसको जिम्मेवार प्रतिपक्षको भूमिका भएको बताए।
“राजनीतिक स्थिरता कमजोर नहोस् भनेर हामीले सरकारलाई समर्थन गरेका छौँ। प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्छौँ, समर्थन गर्नुपर्ने ठाउँमा समर्थन गर्छौँ,” उनले भने।
विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले बहुमतको सरकार सञ्चालन गरेको स्मरण गराउँदै थापाले बहुमतलाई सत्ता टिकाउने साधनका रूपमा नभई मुलुकको विकास, लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि उपयोग गर्नुपर्नेमा जोड दिए।
सरकारले जनताबाट प्राप्त पाँच वर्षको जनादेशको सम्मान गर्दै सफलतापूर्वक कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको थापाले बताए।


