तेहरान । इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् । तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा भनिएको यस्तो चेतावनी दिइएको हो । वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेकाले र हालैका हमलाका कारण स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ ।
यो जलमार्ग फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने मुख्य मार्ग हो । यो साँघुरो जलमार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास निर्यात हुन्छ । साउदी अरब, इराक, कुवेत, यूएई र कतार जस्ता प्रमुख तेल उत्पादक देशहरूको निर्यात यसै मार्गमा निर्भर छ । इरानले यसलाई बन्द गरेपछि तेल आपूर्ति ठप्प हुने र मूल्य आकाशिने अनुमान गरिएको छ । ब्रेन्ट क्रुडको मूल्य पहिले नै उच्च छ । पूर्ण बन्दले यसलाई १५०–२०० अमेरिकी डलर प्रति ब्यारेलसम्म पु¥याउन सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसले विश्वव्यापी मुद्रास्फीति बढाउने र आर्थिक मन्दी निम्त्याउने जोखिम छ ।
भारत, चीन, जापान, दक्षिण कोरिया जस्ता देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । युरोपमा पनि इन्धन अभाव हुन सक्छ । सयौं ट्यांकरहरू अड्किएका छन् । बीमा कम्पनीहरूले कभरेज अस्वीकार गरेका कारण व्यापारीहरू जोखिम लिन डराइरहेका छन् । यसको बाछिटा नेपालमा पनि अवश्य आइपुग्छ । नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्छ । अन्तर्राष्ट्रिय मूल्य वृद्धिले नेपालमा पनि पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्ने सम्भावना छ । यसले ढुवानी, उद्योग र कृषिमा थप चाप पार्नेछ ।
अमेरिका र इजरायलसँगको तनाव बढिरहेको बेला यो घोषणा युद्धको अर्को चरणको संकेत हो । अन्तर्राष्ट्रिय समुदायले तुरुन्त वार्ता र मार्ग खोल्न आह्वान गरेका छन् ।

