बाठमाडौँ । आइतबार भारतीय राज्य पञ्जाबमा पक्राउ पर्नु भएका अमृतपाल सिंहलाई असमको जेलमा राखिएको छ । आइतबार बिहान पक्राउ पर्नु भएका सिंहलाई सुरक्षाकर्मीले दिउँसो २८ सय किलोमिटर टाढाको असमस्थित डिब्रुगढ जेलमा पुर्याएको बिबिसी हिन्दीले जनाएको छ । उहाँलाई जहाजबाट असम पुर्याइएको थियो भने विमानस्थलबाट जेलसम्म लैजाँदा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।
को हुन् अमृतपाल सिंह?
सन् २०२० भन्दाअघि सिंह कुनै चर्चामा हुनुहुन्न थियो । त्यतिबेला भएको किसान आन्दोलनका क्रममा अभियन्ता बन्नु भएका सन्दीप सिंहको सामाजिक सञ्जालमा समर्थन गरेपछि उहाँलाई केही मानिसले चिन्न थालेका थिए । सन् २०२२ को मार्चमा उहाँ अचानक वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उहाँको चर्चा चुलिएको हो ।
दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो । सन् २०२२ को विधान सभा चुनावका बेला वारिस पञ्जाब दे खलिस्तानतर्फ ढल्किएको थियो । २९ वर्षीय अमृतपाल सिंह वारिस पञ्जाब देको नेता चुनिएपछि २०२२ सेप्टेम्बरमा दुबईबाट पञ्जाब फर्किनु भएको थियो । दुबईमा उहाँको परिवारको ट्रान्सपोर्टको व्यापार रहेको छ।
पञ्जाब फर्किएपछि सार्वजनिक र गोप्य रूपमा गरेका विभिन्न कार्यक्रमबाट उहााको चर्चा चुलिँदै गयो । उहााले सार्वजनिक रूपमै पनि हिंसाका पक्षमा वकालत गर्नु भएको थियो । पछिल्लो समय उहाँले शिखहरूको छुट्टै राज्य खलिस्तानको भावना दबाउन नसकिने बताउँदै आउनु भएको थियो । सुरूमा भारतको पञ्जाबभित्र खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट पनि खलिस्तान भूमि गाभ्ने योजना उहाँले एक अन्तर्वार्ताका क्रममा सुनाउनु भएको थियो ।
एउटा युट्युब भिडिओमा उहाँले भारतले पञ्जाबमा उपनिवेश लादेको बताउनु भएको थियो । चर्चा चुलिँदै गएपछि अमृतपाल हतियारधारी समर्थकहरूको स्कर्टिङमा हिँड्न थाल्नु भएको थियो । अमृतपालका एक जना निकट पक्राउ परेपछि उहाँका समर्थकले गत फेब्रुअरी २३ एउटा स्थानीय प्रहरी चौकी घेर्नु भएको थयो । उहाँहरूसँग भएको झडपका क्रममा केही प्रहरीहरू घाइते भएका थिए । त्यसपछि प्रहरीले उहाँ र उहाँका समर्थकमाथि कारबाही तीव्र पारेको हो।