काठमाडौं । चितवन २ का दुई मतदान केन्द्रमा रोकिएको मतदान सुचारु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान सुचारु भएको हो । मतदान रोकिएपछि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि अवस्था सहज बनेको हो । चितवन २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको थियो ।
मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो । रवि लामिछाने भरतपुर १२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उहाँका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।

