काठमाडौँ । ताइवानका परराष्ट्रमन्त्री जोसेफ वुले चीनसँग सन् २०२७ मा युद्धका लागि तयारी गरिरहेको बताउनु भएको छ । एलबीसीको टुनाइट विथ एन्ड्रु मारसँग कुरा गर्दै वुले भन्नु भयो, ‘चीनको सैन्य जोखिमलाई हामीले निकै गम्भीरतापूर्वक लिएका छौं । सन् २०२७ का लागि हामी गम्भीर हुनुपर्छ ।’
चीनका राष्ट्रपति सी चिनपिङले देशको सेनालाई सन् २०२७ सम्ममा ताइवान मिसाइसक्न आदेश दिएको अमेरिकी गुप्तचर निकायले विश्वास गरेको छ । चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र मुख्यभूमिसँग त्यो मिसिनुपर्छ भन्ने गरेको छ । शुक्रवार मात्र चीनका परराष्ट्रमन्त्री छिन काङले ताइवान जलसन्धिका दुवै भाग चीनकै भएको बताउनु भएको छ । ताइवानको विषयमा आगोसँग खेल्नेहरू आफैं डढ्नेछन् समेत उहाँले बताउनु भयो ।
केही अमेरिकी अधिकारीहरूले चाहिँ त्यसअगावै युद्ध हुने विश्वास गरेका छन् । गत जनवरी महिनामा अमेरिकाको हिन्द–प्रशान्त कमान्डका उपकमान्डर जनरल माइक मिनिहानले सन् २०२५ मा युद्ध हुन सक्ने आभास आफूलाई मिलेको बताउनु भएको थियो ।

