काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत आज आइतबार तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार दिउँसो दुई बजेसम्म तीनवटै क्षेत्रमा एक तिहाइ हाराहारीमा मतदान भएको छ । सबैभन्दा बढी बारा २ मा ३८ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
त्यस्तै चितवन २ मा ३५ प्रतिशत मतदान भएको छ । तनहुँ १ मा ३१ प्रतिशत मतदान भएको आयोगमा रिपोर्टिङ भएको छ । बारा २ मा एक लाख पाँच हजार २४८ मतदाता छन् । त्यसमध्ये ४० हजार मत खसेको आयोगले जनाएको छ ।
चितवन २ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । जसमध्ये ४४ हजार २१३ जनाले मत दिएका छन् । यसैगरी तनहुँ १ मा एक लाख २३ हजार ३०५ मतदाता छन् । उनीहरूमध्ये ३८ हजार ७७० जनाले मतदान गरेका छन् । तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान जारी छ । मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदानको समय साँझ ५ बजेसम्मलाई तोकेको छ ।

