काठमाडौँ । चितवनका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । इच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो । इच्छाकामना ६ मा तीन बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको छ । अरू पाँचजनाको नमुना परीक्षणका लागि आज हेटौंडा पठाइएको छ । बुधबार संक्रमण पुष्टि भएसँगै सो क्षेत्रमा टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
दुई वर्षअघि जिल्लाको पहाडी क्षेत्रमा दादुरा देखिएको थियो । यो सरुवा रोग हो । रोग नियन्त्रणका लागि जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक बालबालिकालाई खोप लगाउने गरिन्छ । सो क्षेत्रमा खोप लगाउन छुटेको हो कि भनेर अध्ययन समेत गरिएको छ । कार्यालयले सरुवा रोग भएकाले संक्रमण भएकाहरूलाई छुट्टै राख्न (आइसोलेसनमा) र खोप लगाउन छुटेको भए खोप लगाउन अनुरोध समेत गरेको छ ।