काठमाडौँ । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, २ गते आठ जिल्लाका २८ , ३ गते १२ जिल्लाका ३२, ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो ।
पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्यूठान, सुर्खेतमा बढी वन डढेलो लागिरहेको छ । हाल देखिएको डढेलोमा छत्र डढेलो (ठूलो रुखको माथिसम्म हुने आगलागी) सिन्धुली र रामेछापमा मात्र देखिएको छ भने अन्य जिल्लामा देखिएको सतही डढेलो (जमिनमा झारपातमा हुने आगलागी) हो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ । वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।