काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज गरी करिब ३ अर्ब भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २ अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो ।
निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसँगै जहाज खरिदबापत लिएको ऋणको वि.सं. २०७९ असार महिनादेखि चैत ३० गतेसम्मको उक्त रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ । निगमले २०७९ चैत महिनाको किस्ताबापत दुवै कोषलाई जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ । सोही वर्षको असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।