काठमाडौँ । पार्किङ्ग गरिराखेको मोटरसाइकल चोरी गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी प्रकाउ पर्नु भएको छ । दोलखा जिल्ला मेलुङ्ग गाउँपालिकामा स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा सवारी चालकमा कार्यरत प्रहरी जवान भण्डारीले मन्थली नगरपालिका १ का कपडा व्यवसायी रमेश नेपालीको पार्किङ्ग गरिराखेको बागमती प्रदेश ०२–०२८प ०९०७ नम्बरको मोटरसाइकल बैशाख १ गते नयाँ वर्षको दिन राति चोरी गर्नु भएको थियो । सदरमुकाम मन्थली बजारको सडक किनारमा पार्किङ्ग गरि राखेको मोटरसाइकल हराएपछि नेपालीले खोजीका लागि प्रहरीमा उजुरी दिनु भएको थियो ।
मोटरसाइकल धनी नेपालीको उजुरीको आधारमा खोजबिनमा लागेको रामेछाप प्रहरीले हराएको मोटरसाइकले मन्थली नगरपालिका १ हाटेचौरमा एक घरको कोठाभित्र सबै पार्टपुर्जा झिकेको अवस्थामा फेला पारेको थियो । मोटरसाइकलको पाटपुर्जा मात्रै फेला पारेपछि प्रहरीले बजारको सिसिक्यामेराको फुटेज हेर्दा प्रहरी जवान भण्डारीले नै मोटरसाइकल चोरी गरेको देखिएपछि प्रहरी जवान भण्डारीलाई हिरासतमा लिई रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।