चैत्र ३,काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि नेपाली कांग्रेस चुनावको आन्तरिक समीक्षामा जुटेको छ। अघिल्लो चुनावमा पहिलो दल बनेको कांग्रेस अहिले नेतृत्व परिवर्तन गरेर चुनावी मैदानमा जाँदा पनि लज्जास्पद हार व्यहोरेपछि आन्तरिक समीक्षामा जुटेको हो।
पार्टीले अहिले चुनावको अनौपचारिक रूपमा समीक्षा गरिरहेको प्रवक्ता देवराज चालिसेले बताए।
उनले भने, ‘अहिले हामी अनौपचारिक रूपमा समीक्षा त गरिरहेका छौँ। अब पार्टीको केन्द्रीय समिति बैठक राखेर छलफल गर्ने तयारी गर्दैर्छौँ। यही साताभित्र पार्टीको बैठक बस्छ।’
कांग्रेसले यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फबाट २० सीट जितेर दोस्रो पार्टी बनेको छ। अहिले चुनावको समग्र परिणामबारे कांग्रेसका सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहित शीर्ष नेताहरूबिच छलफल भइरहेको छ।
संस्थापन पक्षले चुनावमा धक्का खानुमा पूर्वसभापति देउवानिकट नेताहरूको असहयोगलाई पनि कारण मानेको छ। तर देउवा निकट नेताहरूले भने अझै गगन नेतृत्वको कार्यसमितिलाई स्वीकार गरेको छैन।

