काठमाडौं । शुक्रबार नयाँ वर्षको अवसर पारेर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ बस्ने बालुवाटार गैरीधारास्थित घरमा साझ रमाइलो चलिरहेको थियो । वर्षमान उपचारका सिलसिलामा देशबाहिर हुनुहुन्छ। काठमाडौंमा रहेका आफन्तहरूलाई भेला पारेर उहाँका परिवारका सदस्यले रमाइलो गरिरहनु भएको थियो । तर सोही भेलामा प्रहरीले बोकेको हतियारबाट गोली चल्यो र वर्षमानकी आमा तिर्थमाली घाइते हुनु भयो ।
७४ वर्षीया तीर्थमालीलाई गोली लागेपछि उहाँ लड्नु भयो । घटनालगत्तै उहाँलाई वीर अस्पतालको ट्रमा सेन्टर लगियो । अहिले उहाँको त्यहाँ उपचार भइरहेको छ । चिकित्सकलाई उदृत गर्दै प्रहरीले तिर्थमाली खतरामुक्त रहेको जनाएको छ । नाताले नाती पर्ने प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोलबाट निस्केको गोलीले तीर्थमालीको देव्रे खुट्टा छेडेको प्रहरीको भनाइ छ । प्रहरीमा घटनाको जानकारी राति साँढे २ बजे मात्रै आएको र पुनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय नक्सालमा राखेको छ ।
प्रहरीले उक्त घटनालाई ‘एक्सिडेन्ट्ली’ भएको जनाएको छ । न्यायाधीशको सुरक्षामा खटिएका ती प्रहरी सहायक हवल्दार वर्षमानकी आमाले बोलाउँदा कार्यक्रममा सहभागी हुनु भएको थियो । नयाँ वर्षको कार्यक्रम सकेर राति अबेर करिव १० बजेतिर घर फर्किने बेला त्यहाँ उपस्थितहरूले यति राति घर कसरी जान्छौं भनेर सोध्दा उहाँले आफूसँग भएको हतियार (पेस्तोल) निकालेको र सोही क्रममा अचानक गोली चलेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । पेस्तोलधारी पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।