काठमाडाैं । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले विहिबार काठमाडौँमा आयोजना गरेको ‘बालकप्रति हुने यौन दुर्व्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न बहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो ।
नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौनहिंसामा परेका छन् । नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरैजसो बालक यौनहिंसामा पर्ने गरेको पाईएको छ ।
यौन दुर्व्यवहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, वौद्धिक तथा मानसिक रूपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् । यस्तै विश्वभर ६ जना बालकमध्ये एक जना १८ वर्ष हुनुअधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ ।
बालकलाई गोप्य अंग छोएर अर्थात् छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुम्सुम्याउनु, अश्लील शब्द प्रयोग गरेर बोलाउनु, अश्लील तस्वीर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अंग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुर्व्यवहार मानिन्छ ।