आगामी २०८२ साल पौष २७ र २८ गते काठमाडौँस्थित भृकुटीमण्डपमा नेपालि काग्रेसको आयोजना हुने यस विशेष महाधिवेशनले पार्टीको वैचारिक दिशा, संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र र समसामयिक राष्ट्रिय राजनीतिक चुनौतीहरूमाथि निर्णायक बहस तथा निर्णय गर्ने जनाएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बारा (बी.पी. स्मृति भवन, कलैया) ले एक औपचारिक सूचना जारी गर्दै बारा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा आमन्त्रित सदस्यहरूलाई विशेष महाधिवेशनमा अनिवार्य, जिम्मेवार र गरिमामय उपस्थितिका लागि आग्रह गरेको छ। जिल्ला कार्यसमितिका अनुसार नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको मजबुत आधार भएकाले यस्तो ऐतिहासिक अवसरमा प्रतिनिधिहरूको सक्रिय सहभागिता अत्यन्त आवश्यक छ।
सूचनामा विशेष महाधिवेशनमार्फत जनताको आवाज र वर्तमान आवश्यकतालाई केन्द्रमा राख्दै एकताबद्ध, सुदृढ र जनमुखी नेपाली कांग्रेस निर्माण गर्ने लक्ष्य स्पष्ट गरिएको छ। पार्टीलाई अझ सशक्त, लोकतान्त्रिक र उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यस महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सबै प्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।
यसै सन्दर्भमा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति बारा का सचिव राजेश रौनियारले विशेष महाधिवेशन पार्टीका लागि मार्गनिर्देशक अवसर भएको उल्लेख गर्दै भन्नुभएको छ, “यो विशेष महाधिवेशन नेपाली कांग्रेसको वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर हो। बारा जिल्लाबाट निर्वाचित सबै प्रतिनिधिहरूले समयमै उपस्थित भई जिम्मेवार भूमिका निर्वाह गर्नु नै पार्टी र लोकतन्त्रप्रतिको हाम्रो दायित्व हो।”
लोकतन्त्रको रक्षा, संगठनको सुदृढीकरण र पार्टीको उज्ज्वल भविष्यका लागि सबै प्रतिनिधिहरूको समयमै र सक्रिय उपस्थितिका लागि जिल्ला कार्यसमिति, बाराले हार्दिक अनुरोध गरेको छ। उक्त सूचनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बारा का सचिवहरू राजेश रौनियार र भैयाराम प्रसाद यादवको हस्ताक्षर रहेको छ।


