काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगरे सिंहदरबार नै अरू पालिकामा सार्न चेतावनी दिनु भएको छ । विहिबार सामाजिक सञ्जालमा पोष्ट राख्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो ।
उहाँले लेख्नु भएको छ, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् ‘हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति , कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’
बालेनले यसअघि देशकै प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्नु भएको थियो । सिंहदबारको फोहर नउठाउने उहाँको अडानपछि मंगलरबार मन्त्रिपरिषद्को बैठकले जिम्मेवार बन्न उहाँलाई सचेत गराएको थियो ।

