काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । पार्टीको बुधबार बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्ध्यबासिनी कंशाकारलाई निर्वाचित गर्ने निर्णय पनि गरेको हो । व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठको सांसद पद गएको हो ।
श्रेष्ठको पद रिक्त भएपछि कसलाई सांसद बनाउने भनेर छलफल हुँदा कंशाकार छनोटमा पर्नु भएको छ । आदिवासी-जनजाति क्लस्टरको महिलातर्फ कंशाकार प्राथमिकतामा रहेकाले उहाँको संसद् यात्रा निश्चित भएको हो । विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता समेत हुनुहुन्छ । उहाँ आफैं पनि एसिड पीडित हो ।
हेटौंडाकी कंशाकारमाथि २०७० सालमा एसिड आक्रमण भएको थियो । हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै कंशाकारमाथि एसिड छ्यापेका थिय । अभियुक्त ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र अहिले जेल सजाय भोगिरहेका छन् । एसिड प्रहारबाट कंशाकारको अनुहारमा निकै क्षति पुगेको छ भने हालसम्म उहाँले २० पटक अनुहारको शल्यक्रिया गराइसक्नु भएको छ ।