काठमाडौँ । महोत्तरीमा एक मजदुरले आफूले काम गरेको ज्याला माग्दा चोरीको आरोपमा अमानवीय व्यवहार भोग्नुपरेको छ । लोहारपट्टी नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय मोबारक नदाफलाई उहाँका साहुले चोरीको आरोप लगाउँदै बीच बजारमा पोलमा बाँधेर मोसो दल्नुका साथै कपाल मुण्डन गरी कुटपिट गर्नु भएको हो ।
नदाफलाई पैसा दिन्छु भनी बोलाएर सोही ठाउँ बस्ने साहु ३४ वर्षीय कृष्णा मिश्र भनिने आनन्द मिश्रले पैसा दिनुको साटो चोरीको अरोप लगाएर कुटपिट गर्नु भएको हो । मुस्लिमहरूको पर्व रमदान चलिरहेको बेला नदाफ आफूले काम गरेको ज्याला माग्न साहु मिश्रले बोलाएको ठाउँमा पुग्नु भएको थियो । आफूले काम गरेको ज्याला पटक पटक माग्दासमेत नपाउनु भएका उहाँलाई बीच बजारमै साहु मिश्रले बाँधेर कुटेको उहाँले बताउनु भएको छ ।
पछि स्थानीयले विरोध गरि प्रहरीलाई खबर गरेपछि मिश्र फरार हुनु भएको थियो । नदाफलाई भने स्थानीयको सहयोगमा प्रहरी उद्धार गरेको छ । घटना पछि पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी दिनु भएको छ। सोही दिन घटनामा संलग्न पीडक मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । मिश्रले नदाफमाथि अमानवीय व्यवहार गरेको भन्दै स्थानीयले कडा कारबाहीको माग गरेका छन्।