काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन महिनामा वैदेशिक रोजगारीका लागि करिब ३७ हजारले श्रमस्वीकृति लिएका छन् । चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे तयार गरिएको प्रतिवेदन अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ ।
त्यस्तै, सोही अवधिमा पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या भने १ लाख ९२ हजार ५५९ पुगेको छ । राष्ट्र बैंकको सोही प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्म ३ लाख १४ हजार ७६७ ले श्रम स्वीकृति लिएका थिए । त्यस्तै, १ लाख ६७ हजार ७०८ ले पुन: श्रम स्वीकृति लिएका थिए।