काठमाडौँ । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनु भएको छ । प्रेस सेन्टर रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताउनु भयो
।
‘मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु, यो देशको संविधानअनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ’, उहाँले भन्नु भयो, ‘संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।’
उहाँले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताउनु भयो । त्यसबारे सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उहााको भनाइ छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने र पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।
‘यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ’, श्रेष्ठले भन्नु भयो, ‘यसका लागि हामी फेरि पनि संसदमा प्रवेश गरेका छौँं, यो कामलाई पूर्णता दिन्छौँ। ‘उहाँले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरूसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिनु भएको छ ।