७ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो पाँच महिनामा वैदेशिक व्यापार ९ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड बराबर वैदेशिक व्यापार भएको छ । जुन गत आव सोही अवधिको तुलनामा २०.०७ प्रतिशतभन्दा धेरै हो । गत आव २०८१/८२ मंसिरसम्म ७ खर्ब ३५ अर्ब १४ करोड बराबर वैदेशिक व्यापार भएको तथ्यांक छ ।आयात र निर्यात दुवै वृद्धि हुँदा समग्र वैदेशिक व्यापार उकालो लागेको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ६६ अर्ब १८ करोड बराबर वस्तु आयात भएको छ । जुन गत आव सोही अवधिको तुलनामा १५.८३ प्रतिशत धेरै हो । निर्यात भने १ खर्ब १६ अर्ब ५० करोड बराबर भएको छ । यो गत आवको तुलनामा ५८.१७ प्रतिशत धेरै हो ।
कुल वैदेशिक व्यापारको आकार २० प्रतिशतले वृद्धि भए पनि व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेको छ । यसो हुनुमा निर्यातमा उल्लेख्य वृद्धि हुनु हो । मंसिर मसान्तसम्म व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड बराबर भएको छ । गत आव सोही अवधिमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड बराबर थियो । कुल वैदेशिक व्यापारमा आयात हिस्सा केही खस्किएको छ । जुन ३.५३ प्रतिशतले घटेर ८६.८० प्रतिशत कायम भएको छ ।त्यस्तै निर्यात हिस्सा ३१.७३ ले बढेर १३.२० प्रतिशत कायम भएको भन्सार विभागको तथ्यांक छ ।

