७ पुस, काठमाडौं । ललितपुरमा एकै व्यक्तिले दुई दिनको अवधिमा दुई युवकको हत्या गरेको खुलेको छ । एक व्यक्ति हत्या आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा तिनै व्यक्तिले अर्का व्यक्तिको पनि हत्या गरेको खुलेको हो ।
हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका घर भएका रमेश भनिने देवराज ढुंगेल र जयराम अधिकारी छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुली समेतको सहयोगमा पक्राउ गरिएको हो ।
उनीहरू दुई जना मिलेर भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राई र गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।अधिकारीलाई सिन्धुली प्रहरीको सहयोगमा आइतबार साँझ पक्राउ गरी १० बजे राति काठमाडौं ल्याइएको हो । यसअघि प्रहरीले देवराजलाई पक्राउ गरेको थियो ।
हत्या गर्नुको मुख्य कारण ऋणसँग जोडिएको प्रहरीले बताएको छ । घटनाअनुसार देवराजले आफ्नी श्रीमतीलाई करिब चार महिनाअघि जापान पठाएका थिए । श्रीमती जापान पठाउन उनले कोही व्यक्तिसँग ऋण लिएका थिए । उक्त ऋण तिर्न फेरि देवराजले अहिले हत्या गरिएका आफ्नै जेठान केशवराजसँग ६ लाख र पारुहाङसँग ५ लाख रुपैयाँ ऋण लिएको अनुसन्धान अघिकृत बताउँछन् ।
केशवराज र पारुहाङले उक्त ऋण फिर्ता माग्न थालेपछि योजना बनाएर हत्या गरेको प्रहरीले बताएको छ । ‘हत्याको मुख्य कारण नै ऋणसँग जोडिएको छ । ऋण तिर्नु नपर्ने सोचेर हत्या गरेको देखिन्छ,’ एसएसपी बस्नेतले भने ।

