सुर्खेत । नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पदको निर्वाचन केन्द्रित उम्मेदवार चयनका लागि आइतबारसम्मको समयसीमा तोकेको थियो । मंसिर २६ गतेसम्म जिल्लाबाट प्रदेश कमिटीमा र २८ गतेसम्म प्रदेशले उम्मेदवारहरूको नाम केन्द्रमा पठाइसक्ने परिपत्र थियो ।
कर्णालीमा भने पार्टीभित्रको गुटगत राजनीतिका कारण उम्मेदवारको सिफारिसमा जताततै विवाद देखिएको छ । कतै केन्द्रको निर्देशन विपरीत प्रदेश सांसदलाई उम्मेदवारमा सिफारिस गरिएको छ भने कतै एकलौटी निर्णय गरिएको गुनासो छ ।
केन्द्रमा संस्थापन (शेरबहादुर देउवा) र इतर पक्ष (शेखर–गगन) भनेजस्तै कर्णालीमा संस्थापनको नेतृत्व पार्टीका वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्छन् भने इतर पक्षको नेतृत्व हृदयराम थानी, भूपेन्द्रजंग शाहीहरूले गर्दै आएका छन् । उम्मेदवार छनोटमा अहिले यी गुटहरूबिच निकै रस्साकस्सी चल्यो
भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि अहिले हरेक राजनीतिक दलहरूमा युवाहरू अगाडि आउनुपर्ने आवाज उठिरहेको छ, तर कर्णालीमा कांग्रेस उम्मेदवार बन्ने लहरमा अधिकांश पुरानै, पटक–पटक सांसद भइसकेका र ‘फेलियर’ नेताहरूकै दबदबा देखिएको छ । यसअघि कर्णालीबाट प्रतिनिधि सभा सदस्य रहेका अधिकांश कांग्रेस नेताहरूको नाम पुनः सिफारिसमा परेको छ ।
१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई–दुई वटा निर्वाचन क्षेत्र छन् । नेताहरूका अनुसार, सुर्खेत–१ र डोल्पा बाहेक अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस विवादमुक्त छैन । जसका कारण एउटै निर्वाचन क्षेत्रको उम्मेदवारमा थुप्रै नेताको नाम सिफारिस भएका छन् । डोल्पामा प्रत्यक्षतर्फ कर्णबहादुर बुढा (अहिले दुवै पक्षको नजिक) को नाम एकल सिफारिस गरिएको छ ।
यस्तै, सुर्खेत–१ मा कार्यवाहक सभापति पुर्णबहादुर खड्काको नाम प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । उक्त क्षेत्रमा खड्काको नाममा सर्वसम्मत जुटेकाले एकल नाम सिफारिस गरिएको कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी बताउँछन् । तर, सुर्खेतकै क्षेत्र नम्बर २ बाट भने ६ जनाको नाम सिफारिस भएको छ, जसमा निवर्तमान सांसद एवं कर्णालीको इतर पक्षका नेतृत्वकर्ता हृदयराम थानीसहित उपेन्द्रबहादुर थापा, कमल खत्री, नारायण कोइराला, भीष्म हमाल र बसन्ती बस्नेतको नाम सिफारिस भएको छ ।
यी ६ मध्ये खत्रीबाहेक सबै इतर पक्षकै हुन् । नेता थानीले आफ्नै निर्वाचन क्षेत्रमै एकल उम्मेदवार बनाएर सिफारिस गर्न सकेनन् । ‘सम्भावित भनेका थानी र युवा नेता कोइराला हुन्,’ एक नेताले भने, ‘अरुले यसो चर्चाका लागि नाम हालेका हुन् ।’।

