२७ मंसिर, भक्तपुर । नेकपा एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन जिल्ला–जिल्लाबाट बिहानै कार्यकर्ताहरू भक्तपुर आइपुगेका छन् । खेतीपाती छाडेर गाडी रिजर्भ गरी बिहान महाधिवेशनस्थल सल्लाघारी आइपुगेकाहरुले आजै घर फर्किने बताएका छन् ।
एमाले महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुन सिराहाका ७५ वर्षीय सर्जुक दास बिहान ५ बजे भक्तपुर सल्लाघारी आइपुगे । गाडी रिजर्भ गरेर उनीसहित १६० जनाको टोली सल्लाघारी आइपुगेको थियो ।
उनले भने, ‘खेतीपातीको काम छोडेर पार्टीको सभामा आएको हुँ । टोलको सबै जाने भनेर आएको ।’
एमाले महाधिवेशनका लागि भनेर बिहानै भक्तपुर आइपुगेकाहरु जाडोले लुगलुग काँपीरहेका थिए । ७० वर्षीया लरवती मण्डल पनि टोली नेताको आग्रहमा भक्तपुर आएकी छन् । ‘सभा हेर्न आएको हुँ, रातभर चिसोले हान्यो,’ उनले भनिन् ।
अर्का ६५ वर्षीय चुलाहब पण्डित पनि सिराहाबाट आफ्नै खर्चमा भक्तपुर आएको आएको बताउँछन् । ‘हिजो दिउँसो ३ बजे हिँडेको । बिहान यहाँ झरेको,’ उनले सुनाए, ‘कार्यक्रम सकिएपछि त्यही रिजर्भ गाडीमा फर्किने हो ।’
४० वर्षीया मञ्जुदेवी साहले वडाका नेताले बोलाएपछि भक्तपुर आएको बताइन् । ‘नेताले भनेर आएकी हुँ,’ उनले भनिन्, ‘नेताको भाषण सुन्न आएको हो ।’
यो टोलीको नेतृत्व गरेर आएका वडाका एमाले नेता हुन्– महेशकुमार साह । ‘खेतीको सिजन हो । सबै काम छोडेर आएको,’ उनले भने, ‘पार्टीप्रति बफादार भएर आएका हुन् ।’
एमालेको सिराहा जिल्ला कमिटी सचिवालय सदस्य रामकिसुन यादव पनि आफ्नै खर्चमा महाधिवेशनका लागि आएको बताउँछन् । ‘खल्ती–खल्तीबाट पैसा खर्च गरेर आएका हौं । सभा सकेर घर फर्किने,’ उनले भने ।
नवलपुरबाट पनि ३० जनाको टोली आज (शनिबार) बिहान भक्तपुर आइपुगेको छ । ‘हिजो बिहान ९ बजे हिँडेको । आज बिहान ६ बजे आइपुग्यौं,’ राममाया रूतालले भनिन् ।

