काठमाडौँ । भरतपुर अस्पतालको नामबाट कोरोना भाइरसको नक्कली पीसीआर परीक्षण भएको पाइएको छ । भरतपुर अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको लेटरहेड र सिग्नेचर दुरुपयोग गरी कोरोना भाइरसको नक्कली पीसीआर परीक्षण गरिएको जनाएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पतालमा माघ १३ गतेयता रिएजेन्ट नभएका कारण पीसीआर परीक्षण नभएको बताउनु भएको छ । अस्पतालको प्रयोगशाखामा अहिले दैनिक ४/५ वटा एन्टिजेन नमुना परीक्षण मात्र भइरहेको डा. पौडेलले बताउनु भयो । रिपोर्टमा आएको क्यूआर कोड स्क्यान गरी उक्त व्यक्तिको रिपोर्ट हो या होइन भनी थाहा पाउन सकिने पनि उहाँले बताउनु भयो ।
अस्पतालले घटनाको अनुसन्धान गरिदिन चितवन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया जारी रहेको बताएको छ ।