२४ मंसिर,जनकपुर । मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकहरुबाट भएको सम्पूर्ण सरुव, काज सरुवा र जिम्मेवारी हेरफेर लगायतका निर्णहरु बदर गरिएको छ ।
मुख्यमन्त्री कृष्ण यादव नेतृत्वमा नवगठित मधेश प्रदेश सरकारको आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको छ ।
२०८२÷०७÷२३ देखि २०८२÷०८÷१७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा÷काजसंग सम्बन्धित निर्णयहरू बदर गर्ने तथा मिति २०८२÷०७÷२३ मा गठित मन्त्रिपरिषद्को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभिन्न मन्त्रालयहरूबाट भएका कर्मचारीहरूको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा काजसंग सम्बन्धित सम्पूर्ण निर्णयहरू बदर गरिएको छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशका प्रदेश सचिव जय कुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि आफ्नो साविकको जिम्मेवारीका अतिरिक्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुख सचिवको जिम्मेवारी प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
त्यस्तै नागरिकको जीवन रक्षा राज्यको प्रमुख दायित्व रहेको तथ्यलाई मनन गर्दै, प्रदेश सरकारबाट कडा रोग (क्यान्सर, मिर्गौला, मुटु रोग आदि) का बिरामीहरूलाई प्रदान गरिँदै आएको औषधोपचार आर्थिक सहायता वितरण कार्यलाई निरन्तरता दिई तत्काल सुचारु गर्ने कार्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुचारु गर्ने र सो प्रयोजनका लागि चालु आर्थिक वर्षमा विनियोजित रकम अपुग हुन गएमा आवश्यक पर्ने थप बजेट तथा स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले, मधेश प्रदेशले प्राथमिकताका साथ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्बाट भएको छ ।

