२३ मंसिर, अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशस्थित कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजार क्षेत्र र आसपासका गाउँमा कुनै समय फोहोरको थुप्रो हुन्थ्यो । घर, होटल, विद्यालय, हाट–बजारबाट निस्केका फोहोर जंगल, खोला, खोल्सा र चौरमा समेत जथाभावी फ्याँकेर प्रदूषित र दुर्गन्धित हुन्थ्यो ।
तर, अहिले गोदावरी नगरपालिकामा सरसफाइको नयाँ अध्याय सुरु भएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि स्थानीयको जीवनशैली नै बदलिएको छ ।
गत साउनदेखि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यहाँका स्थानीयलाई अब फोहोरमैला कहाँ फाल्ने भन्ने चिन्ताले सताउन छाडेको छ ।
यो परियोजना केवल फोहोर व्यवस्थापनमा सीमित नभएर आर्थिक आत्मनिर्भरता र वातावरणीय सन्तुलनको अनुपम उदाहरण बनेको स्थानीय बताउँछन् ।
गोदावरी नगरपालिका–३ अत्तरिया बजारस्थित बसपार्क क्षेत्रमा लामो समयदेखि फलफूल पसल गर्दै आएकी शान्तादेवी बुढालाई पसलबाट निस्केको फोहोरमैला कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले दैनिक पिरोल्थ्यो । घरबाट निस्केको फोहोर पनि बारीतिर फाल्ने गरेकी थिइन् उनले ।
पाँच महिनाअघि शान्ताले प्लास्टिक, कार्टुन, फलफूलका बोक्रा लगायत फोहोर बजार नजिकैको जंगलमा एकमुष्ट फाल्थिन् । तर, चौकीडाँडामा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि उनलाई अब फोहोर व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने विषयमा सोच्नै पर्दैन ।‘पहिले जताततै फोहोरको थुप्रो देखिन्थ्यो, दुर्गन्धले व्यापारमै असर पर्थ्यो,’ उनी विगत सम्झिन्छिन्, ‘अहिले नगरपालिकाले घर, टोल र बजारैपिच्छे फोहोर उठाउन थालेपछि सबैतिर सफा भएको छ ।’
शान्ता नगरपालिकाको यस पहललाई खुलेर प्रशंसा गर्दै फोहोर व्यवस्थापन शुल्कबापत ‘सय–दुई सय रुपैयाँ दिन पनि कुनै गाह्रो नभएको’ बताउँछिन् ।
गोदावरी नगरपालिकाका अर्का स्थानीय अर्जुन धामी पनि विगतमा जहाँतहीँ फोहोर फाल्ने बानी रहेको स्वीकार्छन् । ‘अहिले गाउँ–गाउँमा गाडीले फोहोर उठाउन थालेपछि जहाँतहीँ फोहोर फाल्ने बानी सुधार भएको छ,’ उनी भन्छन्, ‘ठाउँ–ठाउँमा गरिएको डस्टबिनको व्यवस्थाले पनि हामीलाई फोहोर व्यवस्थापनमा धेरै सहज भएको छ ।’
फोहोर फाल्नकै लागि भनेर टाढा–टाढासम्म पुगेर फर्किनुपर्ने बाध्यता अन्त्य भएको र समय पनि बचत भएको भन्दै उनले खुसी व्यक्त गरे ।

