काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीच भएको २ करोड डिलको अडियो प्रकरणबारे माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उक्त घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा माग्नु भएको हो ।‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उहाँले भन्नु भयो, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’
तर, यस्तो घटना पहिलो पटक भने नभएको उहाँको भनाइ छ । ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ’ प्रमुख सचेतक परियारले भन्नुभयो । रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको परियारले संसदमा जानकारी गराउनु भएको छ ।