काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो रेकर्ड चुनावकै मुखमा सार्वजनिक हुनुमा शंका व्यक्त गर्नु भएको छ । सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोमा प्रश्न गर्नु भएको हो ।
उहाँले भन्नु भयो, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडियो रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ । अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो । ढिला भयो।’
लामिछानेले पार्टीभित्र देखिने यस्ता कृयाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रकृया अगाडि बढाइएको बताउनु भयो । ‘अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन,’ लामिछानेले भन्नु भयो । अर्को एक कार्यक्रममा लामिछानेले रास्वपालाई बदनाम गर्ने उद्देश्यले अडियो रेकर्ड सार्वजनिक गरिएको आरोप लगाउनु भयो । ‘त्यस्ता दुई-तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ । कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उहाँले भन्नु भयो । लामिछानेले सँगै हिँडेका सहयात्री साथीहरूले बीच बाटोमा बाटो बिराए तिनलाई ठेगान लगाउने आँट र साहस पनि आफूमा भएको बताउनु भयो।
आजै संसद् बैठकमा रास्वपाका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आफ्नो पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो संवादबारे संसद् बैठकलाई जानकारी गराउनु भएको छ । उहाँले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियोका बारेमा छानबिन गर्न समिति गठन गरिएको र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको जानकारी दिनु भयो ।